भौगोलिक तथा जैबिक बिबिधता
नेपाल भौगोलिक क्षेत्रले सानो भए पनि जैविक विविधताको दृष्टिले ज्यादै सम्पन्न छ । भू–मध्य रेखा देखि ध्र्र्रुवीय क्षेत्रसम्मको १०,००० किलोमिटर भित्र फैलिएको विभिन्न जलवायुको वातावरणलाई प्रतिनिधित्व गर्ने विविधता नेपालमा तराईमा उष्ण क्षेत्र देखि उच्च हिमाली क्षेत्र बीच १०० किलो मिटर भित्र प्राप्त छ । विश्व मानचित्रमा नेपालले ओगटेको क्षेत्रफल करिब ०.१५ प्रतिशत मात्र भए पनि यहाँ फुल फुल्ने करिब ६,९७३ प्रजाति बिरुवा भेटिन्छन्, जस मध्ये करिब ३२४ प्रजाति नेपालमै मात्र पाइने दुर्लभ वनस्पति रहेका छन् । विश्वभर करिब २ लाख ५० हजार भन्दा धेरै प्रजातिको वनस्पतिहरु रहेको मानिन्छ। फूल फुल्ने बिरुवाहरुको विविधताका आधारमा नेपाल एशियामा १०औँ र विश्वमै २७औँ स्थानमा पर्छ । समृद्ध जैविक विविधता रहेको नेपालमा सबै खाले फूल बिरुवाहरु (बनस्पति) सजिलै उत्पादन गर्न सकिने उपयुक्त भू–भाग भएकोले यहाँ जुनसुकै प्रकारका फूल र वनस्पति उत्पादन गर्न सकिने संभावना धेरै रहेको छ ।
पुष्प व्यवसायको क्षेत्र
फ्लोरिकल्चर भन्नाले फूलको खेती लगायत नर्सरी, ड्राईफ्लावर, टिस्युकल्चर आदि समेतलाई समेट्दछ । नर्सरीको शाब्दिक अर्थ सबै प्रकारको बाली र्हुकाउने स्थललाई जनाउदछ । फ्लोरिकल्चर क्षेत्र अन्तर्गत अलंकारिक बोट विरुवा, मौसमी फूल, कट फ्लावर, ड्राई फ्लावर आदि बोट विरुवाहरु पर्दछ । मौसमी फूलहरुमा पनि एकथरी मौसममा फूल फुल्दछ र फूल फुलि सके पछि बोट मर्दछन् र यीनिहरुको आयु एक बर्षे वा सो भन्दा कम हुन्छ । अर्को थरी बोट सधैं बाँचिरहन्छन् वा बहुबर्षे हुन्छ तर फूल भने आफ्नो मौसममा मात्र फुल्ने गर्दछ । कट फ्लावर भन्नाले बोटबाट काटेपछि पनि केही समयसम्म ताजा रहँदै सजावटमा प्रयोग गर्न सकिने फूलहरुलाई कट फ्लावर भन्ने गरिन्छ । त्यस्तै कुनै फूललाई बोटबाट टिपेर सुकाएपछि पनि सजावटमा प्रयोग गर्न सकिन्छ भने त्यस्ता फूलहरुलाई ड्राई फ्लावर भनिन्छ ।
फ्लोरिकल्चरको प्रयोग धेरै फराकिलो छ। समग्रमा भन्दा घरको भित्रि भाग वा बाहिरी भाग, शहर, कार्यालय सजावटमा प्रयोग हुने, विवाह, व्रतबन्ध, पास्नी, शुभकामना आदन–प्रदान, बिदाई, स्वागत, समवेदना प्रकट गर्दा प्रयोग हुने, गुम्बा, मन्दिर, मस्जिद, गिर्जाघर आदिमा चढाउँदा प्रयोग गरिने र फूलसँग सम्बन्धित अन्य सहायक वस्तुहरुको उत्पादन, सजावट र बिक्रि यी सबै गतिविधि फ्लोरिकल्चरको दायरा भित्र पर्छन्।
नेपालमा पुष्प व्यवसाय र यसको बर्तमान अवस्था
नेपालमा बि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको ईतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको पाईन्छ । बि.सं. २०४० को दशकबाट मात्र नेपालमा ठूला तारे होटलहरुमा बिदेशी पाहुनाहरुलाई स्वागत गर्न कट फ्लावरको प्रयोगको सुरुवात भएको पाईन्छ । तर यो क्षेत्रको व्यवसायीक र संगठित रुपमा बिकास हुन भने करिब पाँच दशक लाग्यो । नेपालमा बि.सं. २०४९ साल ताका लगभग जम्मा ८० को संख्यामा मात्र नर्सरी व्यवसाय संचालनमा रहेको थियो । बि.सं.२०४९ सालमा पुष्प व्यवसायको बिकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले जव फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भयो । तत्पश्चात मात्र संस्थागत रुपमा पुष्प व्यवसायको बिकास क्रमले क्रमीक रुपमा गति लिएको हो । फ्यानको स्थापना पछि यस संस्थाले समग्र पुष्प व्यवसायको बिकास बिस्तार तथा प्रबद्र्धनको क्षेत्रमा बिभिन्न कार्यक्रम तथा गतिबिधीहरु निरन्तर रुपमा संचालन गर्दै आएको छ । पुष्पको प्रजाति विविधीकरण, उन्नत खेती प्रविधि तथा प्राबिधिक सहयोग, बजार विकास, गुणस्तर तथा मापदण्ड निर्धारण, नीतिगत वकालत, वातावरणीय दिगोपन, र सामाजीक योगदानहरू सहित विभिन्न कार्यहरु गरिरहेको छ । पुष्प क्षेत्रलाई प्रतिस्पर्धी र दिगो उद्योगमा स्थापना तथा रूपान्तरण गर्न फ्यानले देशभरका पुष्प व्यवसायीहरूलाई संगठित गर्ने र समग्र पुष्पको व्यवसायीक बिकासका लागि एकै ठाउँमा ल्याउने केन्द्रीय निकायको रूपमा पनि काम गरिरहेको छ । पुष्पको अध्ययन अनुसन्धानको क्षेत्रमा पनि धेरै कार्य भएका छन । पुष्पको मेला प्रदर्शनी सेमीनर कार्याशाला आदि कार्यक्रमको मध्यामबाट आधुनिक खेती प्रविधिलाई प्रबद्र्धन गर्न, नयाँ फूलका प्रजातिहरू परिचय गराउन र पुष्पको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विकासलाई बढावा दिनमा केन्द्रित रहेको छ । फ्यानले पुष्प व्यवसायी सदस्यहरुलाई क्षमता अभिवृद्धि हुने आधारभुत तथा उच्चस्तरिय तालिमहरू प्रदान गरेर, पुष्पको आधुनिक खेती प्रबिधी तथा दिगो अभ्यासहरूको प्रयोग गर्न कृषकलाई प्रोत्साहित गरेर, नेपालको पुष्प उद्योगको उत्पादकत्व, गुणस्तर र वातावरणीय दिगोपन बढाउनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । तीन दशकको निरन्तर तथा अथक प्रयासहरू मार्फत फ्यानले पुष्प व्यवसायी सदस्यहरुको साथै स्थानीय समुदायहरूमा आर्थिक वृद्धि र सामाजिक विकास सुनिश्चित गर्दै विश्व पुष्प बजारमा नेपाललाई स्थापित गर्नमा समेत निरन्तर पहल गरिहेको छ । पुष्पको व्यवसायीक बिकास तथा प्रबद्र्धन कार्यमा नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार तथा बिभिन्न अन्य सरोकारवाला संघ संस्थाहरुको पनि उल्लेखनिय भुमिका रहि आएको छ ।
यीनै प्रयासका फलस्वरुप पुष्प व्यवसाय काठमाण्डौ भ्यालीमा मात्र सिमीत नरही हाल सातै प्रदेशका मुख्य शहरहरु लगायत अन्य क्षेत्रहरुमा फैलदो अवस्थामा रहेको छ । पुष्प खेती भईरहेको जिल्ला संख्या ५४ रहेको छ । लगभग ३२५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, १४४५ भन्दा बढि (नर्सरी–५९४, कट फ्लावर उत्पादक–११०, कट फ्लावर खुद्रा व्यवसायी–१९१, पुष्प थोक व्यवसायी–७, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक –४१८) पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको छ । पुष्प व्यवसायमा अनुमानित लगानी रु११ अर्व ५० करोड भन्दा बढि रहेको छ । पुष्प ब्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि अनुमानित ६२,५०० भन्दा बढि जनशक्तिहरु रोजगार रहेका छन् ।
केहि अवपाद बर्षहरुमा बाहेक पुष्प व्यवसायको माग र आपुर्तिमा बार्षिक बृद्धिदर १० देखि १५% हुदै आएको छ भने आन्तरिक उत्पादन वृद्धिदर वार्षिक ७–९% हाराहारीमा मात्रै रहेको छ । गत आ.ब.२०८१/०८२ मा देशको आर्थिक अवस्था, पुष्प प्रबद्र्धन नीति २०६९ कार्यन्वयन नहुनु, साथै नेपाल सरकारले कृषिका केहि नीतिहरु परिमार्जन गरि लागु हुदा आयात गरि उत्पादन गर्नु पर्ने पुष्प तथा पुष्पजन्य बस्तुहरुको आयातमा नीतिगत समस्य भएकोले समयमा आबश्यक बीउ बिजन तथा मदर प्लान्टहरु आयात गर्न नसक्दा यसले आन्तरिक उत्पादनमा कमी आई पुष्पको बार्षिक कारोबारमा समेत असर पु¥याएको थियो । यसले गर्दा बार्षिक कारोबारमा समेत कमी आएको थियो । यस बर्ष बार्षिक कारोबारमा सुधार आएको छ । गत आ.बर्ष ०८१/८२ मा रु.३ अर्व ३७ करोडको बार्षिक कारोबार भएको थियो । अघिल्लो बर्षको तुलनामा यस बर्ष १६.९१% ले बृद्धि भई रु.३ अर्व ९४ करोड भन्दा बढिको कारोबार भएको अनुमान गरिएको छ ।
आ.ब. २०८२/०८३ मा सिजनल फूल बिरुवा तर्फ रु.२८.७७५१ करोड, आलंकारिक वोट बिरुवा तर्फ रु.११२.१९०६ करोड, कट फ्लावर्स तर्फ रु.७९.३९७८ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु.२९.२६५३ करोड, खुल्ला फूल तर्फ रु.१५.००४२ करोड, सयपत्री तथा मखमली माला तर्फ रु.९१.६९८७ करोड, सामग्री आपुर्ति तर्फ रु. २५.२७७९ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु.११.६६१६ करोड र निर्यात तर्फ रु.१.१५७९ करोडको कारोबार भएको अनुमान गरिएको छ ।
पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात तथा आयात कारोबार
नेपालमा पुष्प बालीहरूको माग उच्च भएता पनि बजार माग अनुसार उत्पादन पर्याप्त नभएकाले आयातमा निर्भरता बढ्दो छ । विशेष गरी तिहार जस्ता चाडपर्वहरुमा भारतबाट ठूलो मात्रामा फूल र माला आयात गरिदै आएको छ । कट फ्लावर अन्तर्गत गोदावरी, सयपत्री, गुलाब, लिलि, जिप्सी आदि जस्ता प्रमुख आयातित फूलहरू रहेको छन् । नेपालबाट मुख्य रूपमा जिबित बिरुवा, ड्राइ फ्लावर, कट फ्लावर, बल्ब, राइजम, आदि बिभिन्न मुलुकमा निर्यात हुने गरको छ ।
क) पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात कारोबार बिबरण
भन्सार बिभागको आर्थिक बर्ष ०८२/८३ को तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात कारोबार रु. १ करोड १५ लाख ७८ हजार कारोबार भएको छ । यस बर्ष अघिल्लो बर्षको त्लनामा ४५.७९% ले कमी आएको छ । अघिल्लो आ.ब.मा जम्मा रु.२ करोड १३ लाख ६० हजार निर्यात करोबार रहेको थियो । नेपालबाट मुख्य रूपमा बल्ब, राइजम, जिबित बिरुवा, ड्राइ फ्लावर, कट फ्लावर आदि अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, भुटान लगायतका देशमा निर्यात भएका छन् । यसले हामीसंग निर्यातको सम्भावना भए पनि उत्पादनको परिमाण तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुसारको उत्पादन अझै कमि रहेको देखाउँछ ।
ख) पुष्प तथा पुष्पजन्य बस्तुको आयात कारोबार बिबरण
भन्सार बिभागको आर्थिक बर्ष ०८२/८३ को तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक आयात कारोबार जम्मा रु.२६ करोड १३ लाख ७२ हजार भएको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष १०५.६६% ले आयातमा बृद्धि भएको तथ्याङ्क रहेको छ । अघिल्लो आ.ब.को आयात कारोबार जम्मा १२ करोड ७० लाख ८९ हजार मात्र रहेको थियो । नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य बस्तुहरुमा मुख्य गरी जिबीत बिरुवाहरु (लाइभ प्लान्ट, अनरुटेट कटिङ्ग एण्ड स्लिप), बिभिन्न पुष्पको बीउ बिजनहरु, फ्रेस कट फ्लावरहरु, बल्ब, टयुबर, टयुबर रुटस् आदि रहेको छ । पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात हुने देशहरुमा ईण्डिया, नेदरल्याण्ड, चीन, जापान जर्मनी, केन्या, थाइल्याण्ड, भेतनाम, अमेरिका, इजिप्ट, युगाण्डा, बेल्जियम, इटली, यू ए ई, ताइवन, इजारायल आदि देशहरु रहेका छन ।
आ.ब.२०८२/०८३ को बार्षिक आयात–निर्यात तथ्याङ्क अनुसार, निर्यात रु.१.१६ करोड र आयात रु.२६.१४ करोड अर्थात् निर्यात भन्दा आयात करिब २२ गुणा बढी रहेको छ । यसले नेपालको पुष्प उद्योग अझै आयातमुखी रहेको स्पष्ट देखिन्छ । विशेष गरी फूलको बीउ बिजन, मदर प्लान्ट तथा कट फ्लावरमा विदेशी निर्भरता उच्च रहेको छ ।
समग्र तथ्याङ्कको विश्लेषण गर्दा नेपालको पुष्प व्यवसाय विस्तारोन्मुख, रोजगारीमुखी तथा उच्च सम्भावना बोकेको कृषि उद्योगका रूपमा विकसित हुँदै गएको देखाउँछ । चार वर्षको अवधिमा व्यवसायीको संख्या, उत्पादन क्षेत्र, कारोबार तथा भौगोलिक विस्तारमा उल्लेखनीय वृद्धि भएको छ । विशेषगरी आलंकारिक बिरुवा, कट फ्लावर तथा माला उत्पादन व्यवसायले उद्योगको प्रमुख आधार निर्माण गरेका छन् ।
यद्यपि आयातमा अत्यधिक निर्भरता, निर्यातको न्यून अवस्था, उत्पादन सामग्री आयातसम्बन्धी नीतिगत जटिलता, आधुनिक प्रविधि तथा पूर्वाधारको अभाव जस्ता चुनौतीहरू अझै विद्यमान छन् । यदि पुष्प प्रवद्र्धन नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिनुका साथै गुणस्तरीय बीउ–बिरुवा उत्पादन, अनुसन्धान, बजार व्यवस्थापन तथा निर्यात प्रवद्र्धनमा लगानी बढाइयो भने नेपालले निकट भविष्यमा आयात प्रतिस्थापन मात्र होइन, उच्च मूल्यका पुष्प तथा पुष्पजन्य वस्तुको निर्यातमार्फत राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बलियो आधार रहेको छ ।