फ्यानको ३४औँ वार्षिक साधारण सभा सम्पन्न
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को ३४औँ वार्षिक साधारण सभा मिति २०८३ भाद्र २४ गते बुधबार काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली पुष्प व्यवसायको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशाबारे छलफल गर्नुका साथै संस्थाको वार्षिक प्रगति समीक्षा र आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले आयोजित उक्त साधारण सभा उद्घाटन र बन्दसत्र गरी दुई चरणमा सञ्चालन गरिएको थियो।
समुद्घाटन सत्र
साधारण सभाको उद्घाटन सत्र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यता एवम् फ्यानका अध्यक्ष श्री राजेश भक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् वस्तुगत परिषद्का सभापति श्री नरेश लाल श्रेष्ठ, कृषि विभागका उपमहानिर्देशक श्री राजेन्द्र कोइराला, राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत श्रीमती सृजना पौडेल, पुष्प विकास केन्द्रका प्रमुख श्री रविन्द्र थापा र कृषि उद्यम केन्द्रका सभापति श्री शिवप्रसाद घिमिरेको विशेष उपस्थिति रहेको थियो। साथै, फ्यानका निवर्तमान अध्यक्ष श्री मीनबहादुर तामाङ, फ्लोरिकल्चर सहकारी संस्थाका कार्यवाहक अध्यक्ष राजु शाही, नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष श्री कृष्ण शर्मा लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, पुष्प व्यवसायी तथा सञ्चारकर्मीहरूको ठूलो संख्यामा सहभागिता थियो।
उद्घाटन सत्रका वक्ताहरूले नेपाली पुष्प क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा फ्यानले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा नेपालको भौगोलिक तथा जलवायु विविधताको उपयोग गर्दै पुष्प उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिइयो। साथै गुणस्तरीय बीउ-बिरुवा, आधुनिक प्रविधि, शीत भण्डारण (Cold Storage), आधुनिक प्याकेजिङ, ढुवानी र निर्यात प्रवर्द्धनका लागि नीतिगत सहजीकरण आवश्यक रहेको सहभागीहरूले बताए।
प्राकृतिक विपद्प्रति दुःख व्यक्त र मौन धारण कार्यक्रममा २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढी तथा अन्य प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो। साथै, विपद् प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गर्न व्यवसायीहरूलाई आह्वान गरियो।
प्रमुख अतिथि श्री अञ्जन श्रेष्ठले प्राकृतिक विपद्को समयमा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पुष्प क्षेत्रको प्रवर्द्धन र विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमको अन्त्यमा फ्यानका वरिष्ठ उपाध्यक्ष श्री रामबहादुर तामाङले सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
बन्दसत्र तथा सांगठनिक निर्णयहरू
उद्घाटन सत्रपश्चात् फ्यानका अध्यक्ष श्री राजेश भक्त श्रेष्ठको सभापतित्वमा बन्दसत्र सुरु भयो।
- प्रतिवेदन प्रस्तुति तथा अनुमोदन: बन्दसत्रमा महासचिव हिरामणि शर्माले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यप्रगति प्रतिवेदन तथा आव २०८३/०८४ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कोषाध्यक्ष राजकृष्ण बजगाइले आव २०८२/०८३ को लेखा प्रतिवेदन र आव २०८३/०८४ को अनुमानित आय-व्यय विवरण प्रस्तुत गर्नुभयो। सभाले प्रस्तुत प्रतिवेदनहरूमाथि व्यापक छलफल गर्दै सर्वसम्मतिले अनुमोदन गरेको छ।
- विधान संशोधन: फ्यानको विधान २०४९ लाई समयसापेक्ष, स्पष्ट र प्रभावकारी बनाउन पुनरलेखन तथा संशोधन गर्ने निर्णय गरियो। यसअघि गठित ५ सदस्यीय विधान संशोधन समितिमा थप २ जना सदस्य थप्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ।
साधारण सभाबाट प्राप्त प्रमुख दिशानिर्देशहरू
३४औँ वार्षिक साधारण सभाले नेपाली पुष्प व्यवसायलाई थप प्रतिस्पर्धी, व्यावसायिक र दिगो बनाउन निम्न प्रमुख विषयहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने दिशानिर्देश गरेको छ:
- नेपाली पुष्प व्यवसायीहरूको यकिन तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरण गर्ने।
- आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने तथा गुणस्तरीय बीउ-बिरुवाको उपलब्धतामा सहजीकरण गर्ने।
- पुष्प व्यवसायीहरूको प्राविधिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने।
- आन्तरिक बजार विस्तार, शीत भण्डारण, प्याकेजिङ र ढुवानी पूर्वाधार विकासका लागि पहल गर्ने।
- नेपाली फूल तथा पुष्पजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार र निर्यात प्रवर्द्धनमा जोड दिने।
- पुष्प व्यवसायमैत्री नीति निर्माणका लागि सरकारी निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्ने।
- व्यवसायीहरूबीच संस्थागत एकता र विपद्को समयमा आपसी सहयोगलाई निरन्तरता दिने।
सभा समापन
अध्यक्ष श्री राजेश भक्त श्रेष्ठले साधारण सभा सफल पार्न सहयोग पुर्याउनुहुने प्रमुख अतिथि, विशेष अतिथि, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सञ्चारकर्मी एवम् सम्पूर्ण फ्यान सदस्यहरूलाई हार्दिक आभार व्यक्त गर्दै सभा समापन गर्नुभएको थियो।