भौगोलिक तथा जैबिक बिबिधता
नेपाल भौगोलिक क्षेत्रले सानो भए पनि जैविक विविधताको दृष्टिले ज्यादै सम्पन्न छ । भू–मध्य रेखा देखि ध्र्र्रुवीय क्षेत्रसम्मको १०,००० किलोमिटर भित्र फैलिएको विभिन्न जलवायुको वातावरणलाई प्रतिनिधित्व गर्ने विविधता तराई र मधेसमा उष्ण क्षेत्र देखि उच्च हिमाली क्षेत्र बीच १०० किलो मिटर भित्र प्राप्त छ । विश्व मानचित्रको अनुपातमा नेपालले ओगटेको भू–भाग केबल ०.१५ मात्र हो । नेपालमा पहिचान भएको करिब ५ हजार ५ सय प्रजातिका फूल फुल्ने विरुवाहरु रहेको तथ्यांक छ जसमा ३ सय २४ प्रजातिहरु अन्य मुलुकहरुमा पाईदैन । विश्व भरिमा हाल अस्तित्वमा रहेका २ लाख ५० हजार भन्दा बढि यस्ता विरुवाहरुको तुलनामा यो संख्या २.२ प्रतिशत हुन आउँछ । जैबिक बिबिधता रहेको नेपालमा सबै खाले फूल बिरुवाहरु (बनस्पति) सजिलै उत्पादन गर्न सकिने पर्याप्त ठाउहरु रहेको हुदा जुनसूकै फूलहरु उत्पादन गर्न सकिने संभावना रहेको छ ।
पुष्प व्यवसायको क्षेत्र
फ्लोरिकल्चर भन्नाले फूलको खेती लगायत नर्सरी, ड्राईफ्लावर, टिस्युकल्चर आदि समेतलाई समेट्दछ । नर्सरीको शाब्दिक अर्थ सबै प्रकारको बाली र्हुकाउने स्थललाई जनाउदछ । फ्लोरिकल्चर क्षेत्र अन्तर्गत अलंकारिक बोट विरुवा, मौसमी फूल, कट फ्लावर, ड्राई फ्लावर आदि बोट विरुवाहरु पर्दछ । मौसमी फूलहरुमा पनि एकथरी मौसममा फूल फुल्दछ र फूल फुलि सके पछि बोट मर्दछन् र यीनिहरुको आयु एक बर्षे वा सो भन्दा कम हुन्छ । अर्को थरी बोट सधैं बाँचिरहन्छन् वा बहुबर्षे हुन्छ तर फूल भने आफ्नो मौसममा मात्र फुल्ने गर्दछ । कट फ्लावर भन्नाले जुन फुललाई बोटबाट काटिसके पछि पनि निश्चित समयसम्म सजावटका लागि प्रयोग गरिन्छ, त्यस्तो फूलहरुलाई कट फ्लावर भन्ने गरिन्छ । त्यस्तै कुनै फूललाई सुकाएर प्रयोग गर्न सकिन्छ भने त्यस्ता फूलहरुलाई ड्राई फ्लावर भनिन्छ । समग्रमा भन्दा घरको भित्रि भाग वा बाहिरी भाग, शहर, कार्यालय सजावटमा प्रयोग हुने, विवाह, व्रतबन्ध, पास्नी आदि, शुभकामना आदन–प्रदान, बिदाई, स्वागत, समवेदना प्रकट गर्दा प्रयोग हुने, गुम्बा, मन्दिर, मस्जिद, गिर्जाघर आदिमा चढाउँदा प्रयोग गरिने र यसको प्रयोगका लागि सहायक वस्तुहरुको उत्पादन, सजावट र बिक्रि समेत फ्लोरिकल्चर अन्तर्गत पर्दछ ।
नेपालमा पुष्प व्यवसाय र यसको बर्तमान अवस्था
नेपालमा बि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको ईतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको पाईन्छ । बि.सं. २०४० को दशकबाट मात्र नेपालमा ठूला तारे होटलहरुमा बिदेशी पाहुनाहरुलाई स्वागत गर्न कट फ्लावरको प्रयोगको सुरुवात भएको पाईन्छ । तर यो क्षेत्रको व्यवसायीक र संगठित रुपमा बिकास हुन भने करिब पाँच दशक लाग्यो । नेपालमा बि.सं. २०४९ साल ताका लगभग जम्मा ८० को संख्यामा मात्र नर्सरी व्यवसाय संचालनमा रहेको थियो । जब बि.सं.२०४९ सालमा पुष्प व्यवसायको बिकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भयो । तत्पश्चात संस्थागत रुपमा पुष्प व्यवसायको बिकास क्रमले क्रमीक रुपमा गति लिएको हो । फ्यानको स्थापना पछि यस संस्थाले समग्र पुष्प व्यवसायको बिकास बिस्तार तथा प्रबद्र्धनको क्षेत्रमा बिभिन्न कार्यक्रम तथा गतिबिधीहरु निरन्तर रुपमा संचालन गर्दै आएको छ । पुष्पको प्रजाति विविधीकरण, उन्नत खेती प्रविधि तथा प्राबिधिक सहयोग, बजार विकास, गुणस्तर तथा मापदण्ड निर्धारण, नीतिगत वकालत, वातावरणीय दिगोपन, र सामाजीक योगदानहरू सहित विभिन्न कार्यहरु गरिरहेको छ । पुष्प क्षेत्रलाई प्रतिस्पर्धी र दिगो उद्योगमा रूपान्तरण गर्न फ्यानले देशभरका पुष्प व्यवसायीहरूलाई संगठित गर्ने र समग्र पुष्पको व्यवसायीक बिकासका लागि एकै ठाउँमा ल्याउने केन्द्रीय निकायको रूपमा पनि काम गरिरहेको छ । पुष्पको अध्ययन अनुसन्धानको क्षेत्रमा पनि धेरै कार्य भएका छन । पुष्पको मेला प्रदर्शनी सेमीनर कार्याशाला आदि कार्यक्रमको मध्यामबाट आधुनिक खेती प्रविधिलाई प्रबद्र्धन गर्न, नयाँ फूलका प्रजातिहरू परिचय गराउन र पुष्पको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विकासलाई बढावा दिनमा केन्द्रित रहेको छ । फ्यानले पुष्प व्यवसायी सदस्यहरुलाई क्षमता अभिवृद्धि हुने आधारभुत तथा उच्चस्तरिय तालिमहरू प्रदान गरेर, पुष्पको आधुनिक खेती प्रबिधी तथा दिगो अभ्यासहरूको प्रयोग गर्न कृषकलाई प्रोत्साहित गरेर, नेपालको पुष्प उद्योगको उत्पादकत्व, गुणस्तर र वातावरणीय दिगोपन बढाउनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । तीन दशकको निरन्तर तथा अथक प्रयासहरू मार्फत फ्यानले पुष्प व्यवसायी सदस्यहरुको साथै स्थानीय समुदायहरूमा आर्थिक वृद्धि र सामाजिक विकास सुनिश्चित गर्दै विश्व पुष्प बजारमा नेपाललाई स्थापित गर्नमा समेत निरन्तर पहल गरिहेको छ । पुष्पको व्यवसायीक बिकास कार्यमा नेपाल सरकार तथा बिभिन्न अन्य सरोकारवाला संघ संस्थाहरुको पनि उल्लेखनिय भुमिका रहि आएको छ ।
यीनै प्रयासका फलस्वरुप पुष्प व्यवसाय काठमाण्डौ भ्यालीमा मात्र सिमीत नरही हाल सातै प्रदेशका मुख्य शहरहरु लगायत अन्य क्षेत्रहरुमा फैलदो अवस्थामा रहेको छ । हरेक बर्ष पुष्प व्यवसायको माग र आपुर्तिमा बार्षिक बृद्धिदर १० देखि १५% को हाराहारीमा हुदै आएको छ । बिगत केहि बर्ष कोभिड महामारीका कारणले पुष्प व्यवसायमा नकारात्मक असर पु¥याएको भएतापनि आ.ब. २०७९/८० देखि पुष्प व्यवसायले पुनः गति लिएको र हाल पुरानै लयमा फर्किसकेको छ । गत बर्षसम्म ४८ जिल्लामा पुष्प खेती भईरहेकोमा यस बर्ष अर्धाखाची, खोटाङ्ग, उदयपुर र बर्दिया जिल्लामा पनि पुष्प व्यवसाय सुरु भएको पाइएको हुदा पुष्प व्यवसाय हुने जिल्ला संख्या ५२ पुगेको छ ।
लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, ११७४ भन्दा बढि (नर्सरी–५३०, कट फ्लावर उत्पादक–९०, कट फ्लावर खुद्रा व्यवसायी–१५८, पुष्प थोक व्यवसायी–६, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक –३६५) पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको छ । पुष्प व्यवसायमा अनुमानित लगानी रु.८ अर्व ८३ करोड भन्दा बढि रहेको छ । पुष्प ब्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि अनुमानित ५१,५०० भन्दा बढि जनशक्तिहरु रोजगार रहेका छन् ।
आ.ब. २०७५/७६ मा पुष्पको बार्षिक कारोबार रु.२ अर्व ४२ करोड रहेकोमा आ.ब.०७७/७८ मा बर्षै भरी कोभिड महामारीको कारण पुष्पको ब्यवसायीक कारोबारमा कमी आई जम्मा रु.१ अर्व ६३ करोड मा खुम्चिएको थियो । आ.ब.२०७८/०८९ मा कोभिडको असर केहि कम हुदा पुष्पको बाषर््िाक कारोबारमा केहि बृद्धि भएको थियो । गत आ.बर्ष ०७९/८० मा रु.३ अर्व ७ करोड भन्दा बढिको कारोबार भएकोमा अघिल्लो बर्षको तुलनामा यस बर्ष १९.८६% ले बृद्धि भई रु.३ अर्व ६८ करोड भन्दा बढिको कारोबार भएको छ ।
आ.ब. २०८०/०८१ मा सिजनल फूल बिरुवा तर्फ रु २८.४३३९ करोड, आलंकारिक वोट बिरुवा तर्फ रु. ११४.९४९४ करोड, कट फ्लावर्स तर्फ रु.५८.१६६९ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु.३१.८१०१ करोड, खुल्ला फूल तर्फ रु. १२.४००१ करोड, सयपत्री तथा मखमली माला तर्फ रु. ८७.७५ करोड, सामग्री आपुर्ति तर्फ रु. २२.४९९३ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु.११.६९०९ करोडको कारोबार भएको छ ।
पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक आयात तथा निर्यात कारोबार
आर्थिक बर्ष ०८०÷८१ को भन्सार बिभागको तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात कारोबार रु.१ करोड ०२ लाख १२ हजार रहेको छ । मुख्य गरी नेपालबाट यस बर्ष बिभिन्न मुलुकहरु (जापान, हङ्गकङ्ग, अमेरिका, अस्ट्रेलिया, यूके, दक्षिण कोरिया, श्रीलंका, कतार, जर्मनी, ईण्डिया) मा पुष्प तथा पुष्पजन्य बल्ब, टयुबर रुटस, क्रम, राईजमस्, जिबीत बिरुवाहरु, ड्राई फ्लावरस्, फ्रेस फ्लावर्स्, बीउ बिजनहरु निर्यात भएको छ । भन्सार बिभागको तथ्याङ्क अनुसार यहि आर्थिक बर्ष ०८०÷८१ मा पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक आयात कारोबार रु.२७ करोड ७९ लाख ०५ हजार रहेको छ । नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य बस्तुहरुमा मुख्य गरी जिबीत बिरुवाहरु (लाइभ प्लान्ट, अनरुटेट कटिङ्ग एण्ड स्लिप), बिभिन्न पुष्पको बीउ बिजनहरु, फ्रेस कट फ्लावरहरु, बल्ब, टयुबर, टयुबर रुटस् आदि रहेको छ । पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात हुने देशहरुमा ईण्डिया, नेदरल्याण्ड, चीन, जापान जर्मनी, केन्या, थाइल्याण्ड, भेतनाम, अमेरिका, इजिप्ट, इथोपिया, बेल्जियम, चिली, डेनमार्क, युके, श्रीलंका, ताइवन, इण्डोनेसिया, मेक्सिको आदि देशहरु रहेको छन । गत बर्ष भन्दा यस बर्ष निर्यात केहि बढि भएको र आयातमा केहि कमी आएको भन्सार बिभागको तथ्याङ्क रहेको छ, ।